नेपाल कम्यूनिष्ट पार्टीको एकता गम्भिर मोडमा पुगेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । पार्टी एकता गरेर कार्यकर्तामाझ गएको भएका पनि नेताहरुमै एकताको भावभन्दा अन्तरद्वन्द्व बढेको पोखरेलले बताएका छन् ।
मंगलबार पाल्पाको तानसेनमा सूर्य बुलेटिनको वितरण गर्दै नेकपाका नेता शंकर पोखरेलले पार्टी एकताको रक्षाका लागि नेताहरु नै लाग्नुपर्ने बताएका हुन् । उनी भन्छन्, ‘जतिबेला हामी अलगअलग थियौ एकताको भाव थियो । जतिबेला हामी संस्थागत भएका छौं ठीक उल्टो भएका छौं हामी अन्तरमुखी भएका छौं । हाम्रा मनहरु कताकता विभाजित जस्तो भएको छ । अनेकतामा हिड्ने खोजेजस्तो भएका छौं ।’ नेकपा पार्टी एकताको विकल्प छ जस्तो मलाई लाग्दैन । अबको विकल्प पनि सुदृढ पार्टी एकता नै हो । एकता बलियो हुन नसके कम्यूनिष्ट आन्दोलन भड्कालोमा हाल्ने काममात्र हुन्छ, उनले भने ।
पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटि सदस्य ठाकुर गैरेले नेकपा कुनै पनि अवस्थामा नफुट्ने र फुट्न नहुने बताए । नेकपामा प्रभावशाली युवा नेता गैरेले पार्टीको विधान अनुसार नेकपा चल्नुपर्ने र सरकार संविधान अनुसार सञ्चालन हुनुपर्ने बताए । ‘माक्सावादी पार्टीभित्र जवसम्म मपाईत्व र व्यक्तिवादी चिन्तन हुन्छ तबसम्म पार्टी बलियो हुन सक्दैन । पार्टीको आन्तरिक छलफलका कुराहरु बाहिर आउन बन्द हुनुपर्छ, युवा नेता गैरेले भने, अहिले नेतालाई पार्टी चाहिएको छैन जस्तो देखिएको छ, तर पार्टीभन्दा माथी कुनै पनि नेता हुन सक्दैन ।’
नेकपा प्रचार प्रसार तथा प्रकाशन विभागद्वारा प्रकाशित दोस्रो बुलेटिन तानसेनमा वितरण गरिएको छ । नेकपा पाल्पाको बुलेटिनबाट आम कार्यकर्तालाई भावनात्मक सम्बन्धको विकास गराउने सम्पादक गुराँस आत्रेयले बताए।