सुमन गाहा
सबैले भन्छन् कोरोनाले सबै कुरा बिगार्‍यो । तर मलाई लाग्छ कोरोनाले हामीलाई धेरै कुरा सिकाएको छ ।

अझ धन कमाउन र गाउँ छाडेर परदेश हिँडेका युवालाई त झन धेरै कुरा सिकाएको छ । परदेशमा हुनेले यतिबेला के मात्र भोगेका छैनन् ! दुःख, अभाव डर र त्रास सबैथोक भोग्न परेको छ । एकातिर कोरोना लाग्ला भन्ने डर, अर्कोतिर छैन रोजगारीको भर ! अनि साहुको ऋण त छँदैछ ।

यी चिन्तनले नै अहिले परदेशीलाई आफ्नै ठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने महसुस गराएको छ । महामारीमा परेका युवालाई उद्धार गर्नुपर्दा सरकारलाई पनि लागेको होला नि यिनीहरुको पौरख देश विकासमा लगाउन पाएको भए !

अनि परदेशी युवाहरूलाई पनि लागेको छ परदेशमा दुःख सहनुभन्दा त आफ्नै बाँझो जमिनमा लहलह धानका बाला झुलाउन पाएको भए।

यसअघि यस्तो लागेको थिएन होला । यो अनुभवले पनि मलाई लाग्छ अब धेरैले खेर गएका खेतबारीमा खनजोत गरी सुन फलाउनेछन् । परदेशको खटाइबाट मुक्त हुनेछन् । सहर होइन गाउँलाई नै प्यारो ठान्नेछन्। गाउँलाई हराभरा बनाउने सोच बनाउनेछन् ।

सबैले आफ्नै गाउँठाउँमा केही गर्दा विस्तारै आफू आफ्नै देशमा आत्मनिर्भर हुनेछन् । विदेश जान ऋण काढ्न गाउँगाउँ डुल्नुपर्ने दिनको अन्त्य हुनेछ । देश छाडेर विदेश जाने होडले बाँझा भएका जमिन हराभरा हुनेछन् । एक्लै भएका बुवाआमाले फेरि आफ्नो छोराछोरीको साथ पाउनेछन् ।