कोरोना भाइरस महामारीका कारण विश्वभर नै उद्योग व्यवसाय चौपट बनिरहेको छ । अधिकांश टेक्नोलोजी कम्पनीहरूको अवस्था पनि राम्रो छैन यो बेला । तर केही यस्ता कम्पनीहरू छन् जो लकडाउनका बेला उल्लेख्य आम्दानी गर्न सफल भइरहेका छन् ।

सफ्टवेयर कम्पनी

लकडाउन सुरु भएसँगै जब तपाईंको कार्यालयले तपाईंलाई घरबाटै काम गर्न भन्छ, तब तपाईंले त्यसका लागि आवश्यक प्राविधिक तयारी गर्नुपर्ने हुन्छ । धेरैका लागि यो झण्झट तथा खर्चिलो विषय पनि हो । तर सफ्टवेयर बनाउने कम्पनीहरूका लागि भने यो निकै नै सुखद् सावित भएको छ । कतिपय सुरक्षा तथा गोपनीयतासम्बन्धी विवादलाई छाड्ने हो भने भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर जुमले यस अवधिमा उल्लेख्य व्यापार गर्न सफल भएको छ । जुम एप निर्माता कम्पनीको सेयर मूल्य डिसेम्बरको तुलनामा अहिले दोब्बर बनिसकेको छ भने प्रयोगकर्ताको संख्या १ करोडबाट बढेर २ करोड पुगेको छ । यसअघि आम सर्वसाधारणले खासै नसुनेको जुम एप अहिले विश्वका धेरै मुलुकहरूहरूका मन्त्री परिषद् बैठकदेखि लिएर तमाम कार्यालयहरूका बैठक सञ्चालन गर्ने प्लाटफर्म बनेको छ ।

महामारीका बेला फस्टाउने सफ्टवेयर कम्पनीमा जुम मात्र एक्लो होइन । गत मार्च महिनामा माइक्रोसफ्ट टिम्सका प्रयोगकर्ता बढेर ४ करोड ४० लाख पुगेका छन् । माइक्रोसफ्टले एक हप्तामा ४० प्रतिशतसम्म प्रयोगकर्ताको संख्यामा बढोत्तरी हासिल गर्दै कीर्तिमान नै कायम गर्न सफल भयो ।

त्यस्तै रिमोट एक्सेस सफ्टवेयर टिमभ्यूअरको माग पनि बढिरहेको छ ।

वर्क च्याट एप स्लाकका प्रमुख कार्यकारीका अनुसार, गत मार्च महिनाको अन्त्यसम्ममा एप प्रयोगकर्ताको संख्याले दैनिक नयाँ रेकर्ड कायम गरेको थियो ।

गेमिङ सफट्वेयर कम्पनीहरू

लकडाउनका बेला होम अफिसमा काम गरिरहँदा जब कार्यालयको काम सकिन्छ तब धेरै मानिस घरमै बसेर समय कटाउनका लागि कम्प्युटर गेम खेल्दछन् । जसका कारण गेमिंग सफ्टवेयर बनाउने कम्पनीहरूको व्यवसाय पनि चम्किरहेको छ ।

लकडाउनका बेला मानिसहरू अनलाइन गेम खेल्नमा धेरै समय खर्चिरहेका हुन्छन् । अनलाइनमा गेम खेल्नेहरूको संख्यामा भारी वृद्धि भएको तथ्यांकले देखाउँदछ । केही समयअघि मात्र लञ्च भएको नयाँ अनलाइन गेम ‘कल अफ ड्यूटी’ रातारात हिट भयो र दशौं लाख प्रयोगकर्ता पुगे ।

विश्लेषकहरूका अनुसार गेमिङ सफ्टवेयरको बिक्रीमा ३५ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै गेमिङसम्बन्धी हार्डवेयरको बिक्रीमा ६३ प्रतिशत बढोत्तरी भएको छ । अहिलेको बिक्रीलाई हेर्दा निकट भविष्यमै गेमिङ कन्सोलको अभाव हुने देखिएको छ । नयाँ गेम तथा कन्सोल तयार हुने क्रम जारी रहेता पनि बजारमा आउनका लागि ढिलाइ हुने कारणले गर्दा अभाव चर्किने विश्लेषण गरिएको छ ।

यद्यपि, एक्स ब्वायज कम्पनीका प्रमुखका अनुसार सन् २०२१ मा गेमिङ सफ्टवेयर उद्योगले समस्याको सामना गर्नुपर्ने र राम्रो बिक्रीका बाबजुद कम्पनीका सेयर मूल्यमा गिरावट आउन सक्दछ ।

भिडियो स्ट्रिमिङ कम्पनीहरू

केवल गेमिङ मात्र होइन भिडियो स्ट्रिमिङ्ग कम्पनीहरूले पनि लकडाउनको फाइदा उठाइरहेका छन् ।

मनोरञ्जनका लागि इन्टरनेट प्रयोगकर्ताहरू नेटफ्लिक्सलगायतका विभिन्न भिडियो स्ट्रिमिङ्ग प्लाटफर्महरूमा मनग्य खर्च गरिरहेका छन् ।

यसबीचमा नेटफ्लिक्सले १६ लाख नयाँ सब्सक्राइबरहरू प्राप्त गरेको छ । नेटफ्लिक्सले वर्षभरकै लागि सामग्रीहरू पहिले नै तयार गरिसकेको थियो । आगामी महिनाको लागि पनि ऊसँग नयाँ कार्यक्रम तयार छ ।

डिज्नी प्लसले पनि ऐन मौकामा मार्चको अन्त्यतिर बेलायतलगायतका ठाउँहरूमा आफ्नो लञ्चिङ गर्यो । डिज्नी प्लसका पहिले नै ३ करोड ३० लाख सब्सक्राइबर्स थियो । अहिले त्यो संख्या करिब साढे ५ करोड पुगिसकेको छ र नेटफ्लिक्सलाई कडा टक्कर दिइरहेको छ ।

हलहरू बन्द भएसँगै अहिले ठूलो लगानीका फिल्महरू समेत डिजिटल प्लाटफर्ममा रिलिज हुन थालेका छन् । फिल्म निर्माता कम्पनी युनिभर्सलका अनुसार अब महामारी पछि पनि डिजिटल प्लाटफर्ममा फिल्म रिलिज गर्ने कार्यले निरन्तरता पाउनेछ ।

त्यस्तै डिजिटल म्युजिक सर्भिस स्पटिफाइका शुल्क तिर्ने सब्सक्राइबरको संख्या १३ करोड पुगेको छ ।

फिटनेस

यो एउटा यस्तो क्षेत्र हो जसमा लकडाउनको नकारात्मक असर त पर्यो नै तर यसले अनेक प्रकारले आफूलाई सम्हाल्न सफल भइरहेको छ ।

व्यायाम कक्षा सञ्चालन गर्ने कम्पनी क्लासपासका अनुसार, लकडाउन पछि उसले अनलाइन सेवाका माध्यमबाट जिम ट्रेनिङ दिन सुरु गरेको छ । लकडाउन पछि अनलाइन व्यायम सेवाको मागमा उच्च वृद्धि भएको छ । तर लकडाउनका आफ्नो मुनाफामा ९५ प्रतिशतले कमी आएको कम्पनीको भनाइ छ ।

उता, पेलोटिन कम्पनीले आफ्नो फिटनेस बाइकको प्रवद्र्धन गर्नका लागि भिडियो स्ट्रिमिङ्ग कक्षा सञ्चालन गर्दछ । कोरोना भाइरस संक्रमणसँगै कम्पनीले आफ्नो स्टुडियो बन्द गर्नुपर्यो । तर पनि कम्पनीले ६० प्रतिशतभन्दा धेरै मुनाफा कमाउन सफल भयो ।

घरमै बसेर युट्युबमार्फत व्यायम सिकाउने युट्युबर जो विक्सलाई पनि लकडाउनले फाइदा पु¥याएको छ । उनका युट्युब भिडियो हेर्नेको संख्यामा तीव्र वृद्धि भएसँगै उनलाई ठूलो स्पोर्टस् ब्राण्डहरूले प्रायोजन गर्ने तयारी गरिरहेको बताइएको छ ।

अमेजन

कोरोना भाइरस महामारीका कारण अमेजन कम्पनीले केही समस्याको सामना अवश्य पनि गर्नु परिरहेको छ । अमेजनको गोदाममा काम गर्ने श्रमिकहरूले न्युन सुविधा तथा उच्च जोखिम भएको भन्दै केही समयका लागि काम नै रोकिदिए । हडतालको आयोजना गर्ने कर्मचारीलाई अपमानित गरेको घटना आएसँगै फ्रान्स सरकारले अमेजनका अत्यावश्यकबाहेकका सामानहरूको सूचना जाँच नहुँदासम्मका लागि बिक्रीमा रोक लगाइदियो । तर यसका बाबजुद पनि अमेजन कम्पनीका मालिक जेफ बेजोसले लकडाउनका समयमा मात्रै आफ्नो सम्पत्ति २४ अर्ब डलर थप्न सफल भए ।

अमेजनले उच्च मुनाफा कमाएसँगै अमेजन कम्पनीको सेयर मूल्यमा पनि भारी वृद्धि भयो ।

बीबीसी