सुनिल कार्की
पाल्पा । जिल्लामा जारी टि २० च्याम्पियन्स लिग २०१८ को आजको खेलमा पाल्पाली लेजेण्डस् र पाल्पाली क्रिकेट प्लेयर्स विजयी भएका छन् ।
विजय संगै दुबै टिम सेमिफाईनलमा प्रवेश गरेका छन् । दमकडा क्रिकेट क्लब र पाल्पाली लेजेण्ड्स विच आज भएको पहिलो खेलमा पाल्पाली लेजेण्ड्स ६ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको दमकडा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनायो । १०९ रनको लक्ष्य पछ्याउँदै पाल्पाली लेजेण्ड्सले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर बिजयी लक्ष्य हासिल गर्यो । लेजेण्ड्सका राजनमान शाक्य म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै आज भएको दोश्रो खेलमा पाल्पाली क्रिकेट प्लेयर्सले लुहुङ एनबिआरलाई १२२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पाल्पालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ को विशाल योगफल तयार पार्यो । २०८ रनको लक्ष्य पछ्याउँदै लुहुङ एनबिआर १८ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा समेटियो । पाल्पालीका अमृत सिंह म्यान अफ दी म्याच घोषित भए ।

जिल्लामै पहिलो पटक स्टान्डर्ड लेदर बलले भएको प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन ।